विज्ञापन
छत्र भन्नाले बाँसको डण्डीमा दुईतले छाता आकारको गोलो घेरामा रिङ्गै सयपत्री फूलको माला वा सप्तरङ्गी ध्वजा पताका झुण्ड्याएर बनाईएको एक नृत्य सामग्री हो । छत्रनाँचमा माथि उल्लेख गरिए अनुसार निर्मित छत्र, बालुन र भजन नाँचको त्रिपक्षीय सम्बन्ध रहेको हुन्छ । एक वा दुईजनाले मूलपाठ भट्टयाएपछि ४/४ जनाको समूहले हाउभाउ वा नाटकीय शैलीमा गाउँदै नाँच्ने प्रचलन नै छत्रनाँच हो । बालुन नृत्य प्रधान रहेको छत्रनाँचलाई विशेष गरी बालुननाँच अन्तर्गत विवेचना गर्ने गरिन्छ । रसुवा जिल्लामा छत्रनाँचको सुरूवात कसरी भयो भन्ने दह्रो प्रमाण वा स्रुतिश्रवण नभए पनि छत्रीय भाई वा गुरूहरूका अनुसार नुवाकोटका वस्तीहरूबाट क्रमश: भित्रिएको भनाई रहेको पाईन्छ । राज्य पुनर्संरचना पूर्व रसुवाका हालका केही वस्तीहरू नुवाकोट नै हुनु पनि यसको अर्को आधार हो । पन्ध्रौं/सोह्रौं शताब्दिदेखि नै प्रचलित छत्रनाँच आज पनि रसुवाका विभिन्न वस्तीहरूमा प्राथमिकताका साथ नाँचिदै आएका छन् । परम्परागत रूपमा विशेष गरी दशैंको टीका वा तिहारको लक्ष्मीपूजा,वा भाईटिकाको दिन छत्र उठाएर (निर्माण गरेर) ठूली एकादशीका दिन सेलाउने गरिन्थ्यो भने हाल परिस्थिति अनुसार उपयुक्त दिनमा उठाउने र लामो समयसम्म राख्ने प्रचलन बढ्दै गईरहेको छ । छत्रनाँच देखाउनको लागि छत्रीय भाईहरूको उपयुक्त समूह चाहिने गर्दछ । छत्रनाँचको अधिकाँश मूलपाठहरू नृत्यका माध्यमबाट प्रस्तुत गरिने हुनाले बाद्यबादनका सामग्रीहरूको पनि आवश्यकता पर्दछ । सत्यनारायणको पूजा वा होम, श्रीमद्भागवत यज्ञ गरिएको वा कुनै अवसर पारेर छत्रनाँच प्रदर्शन गर्न सकिन्छ । इच्छुक व्यक्ति वा संस्थाले छत्रीय भाईहरूको समूहलाई निमन्त्रणा गर्नेछ । प्राचीन प्रचलन अनुसार जनै, सुपारी र भेटीसहित छत्रीय गुरूमार्फत् निमन्त्रणा गर्नुपर्ने भएपनि प्रविधि विकाससँगै मौखिक रूपमा नै निमन्त्रणा गर्ने प्रचलन बढ्दै गईरहेको छ । छत्रलाई विशेष गरी भगवान श्रीकृष्णको एक प्रतिमाको रूपमा चित्रण गरिएको छ । हरि, विष्णु, मातामालिका, विन्द्यावासिनी, हेमाशंखर जस्ता नामले पनि छत्रलाई पुकार्ने गरिन्छ । छत्रनाँचमा प्रस्तुत हुने हरेक पाठ र नृत्यहरू अर्थात् छत्रीय भाईहरूको सुरम्य आवाजले बालबृद्दा, जवान र बालकलाईसमेत् मन्त्रमुग्ध बनाउँछ । हिजो प्राय नाँचिने छत्रनाँच पछिल्लो समय विशेष परिस्थितिमा मात्र नाँच्ने गरिएको छ ।